नेत्रज्याति संघ ४५ औं वर्षमा : २ लाख बढीको आँखा शल्यक्रिया

काठमाडौं : वि.सं. २०३५ सालदेखि दृष्टिविहीनहरुको सेवामा तल्लिन नेपाल नेत्रज्याति संघ ४५ औं वर्षमा प्रवेश गरेको छ । ४४ जिल्लामा आफ्नो सेवा विस्तार गरेको यस संघले नेपालका हरेक क्षेत्रलाई समेट्ने गरी २७ आँखा अस्पताल एवं १ सय ५० आँखा उपचार केन्द्र स्थापना गरिसकेको छ ।

 

नेपाल सरकारको सहयोगमा यस संस्थाले सन् २०२२ सम्ममा आफ्नो मातहतका आँखा अस्पताल, उपचार केन्द्रहरुका साथै विभिन्न बाह्य कार्यक्रमका माध्यमबाट कुल ३० लाख ७ हजार २ सय ९१ जनाको आँखा जाँच तथा उपचार गरेको छ । साथै २ लाख ७२ हजार ९ सय ५० जनाको आँखाको शल्यक्रिया गर्न सफल भएको छ । दृष्टिविहीनको सेवामा दशकौ बिताइसकेको नेत्रज्याति संघले चुनौती पनि उत्तिकै पार गरेको संघका महासचिव भरतबहादुर चन्द बताउँछन् ।

 

डा. रामप्रसाद पोखरेललगायतका नौ जनाको टोलीको सक्रिय भूमिकाका कारण संस्था नेपालकै उत्कृष्ट आँखा उपचारको रुपमा परिचित भएको महासचिव चन्दले बताए । ‘हैजा, दादुराजस्ता महामारीबाट देश गुज्रिरहेको अवस्था थियो, दक्ष जनशक्ति पनि पर्याप्त थिएन, तर हामीले ती चुनौतीका बाबजुद जनताको सहभागितामा जोड दिएर गुणस्तरीय सेवा प्रदान गरिरह्यौँ र सफल भयौँ’, महासविच चन्दले भने । संघको आँखा उपचार सेवालाई विश्वव्यापी रुपमा फैलाउन ‘मेडिकल टुरिजम’ को अवधारणा अघि सारेको महासचिव चन्दले बताए ।

 

यसैगरी, संघले विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)को मापदण्डका आधारमा सन् २०१९-२० मा नेपालमा अन्धोपनको पछिल्लो अवस्थाको जानकारी प्राप्त गर्न ‘र्‍यापिड एसेसमेन्ट अफ एभोइडेबल ब्लाइन्डनेस सर्वे’ गरेको छ । उक्त सर्वेको निष्कर्ष अनुसार नेपालमा अन्धोपनको स्थिति सन् १९८१ को ०.८४ प्रतिशतबाट घटेर सन् २०२० मा ०.२८ प्रतिशतमा झरेको पाइएको थियो । १९८१ मा झण्डै १०० जनामध्ये १ जना दृष्टिविहीनताको स्थिति रहेकोमा करिब ४० वर्षपछि सन् २०२० को सर्वेक्षणबाट दृष्टिविहीनताको स्थितिलाई घटाएर ३ सय ५८ जना बराबर १ जनामा ल्याउन सफल भएको संघले जनाएको छ । हजारौं स्वयम् सेवक तथा कर्मचारीहरुमार्फत नेपाल सरकार स्वास्थ्य मन्त्रालयसँगको सहकार्य, निर्देशन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास साझेदारहरु, प्रदेश सरकार, स्थानीय सरकार, स्थानीय जनसमुदाय एवं दाताहरुको उल्लेख्य साथ र सहयोगमा आँखा स्वास्थ्य सेवालाई हिमाली क्षेत्रका विकट गाउँहरुदेखि पूर्व मेची र पश्चिम महाकालीसम्मका सर्वसाधारणलाई सहज र सर्वसुलभ उपचार सेवा पुर्‍याउने कार्यमा नेपाल नेत्रज्योति संघले अग्रणी भूमिका खेल्दै आएको संघका कार्यकारी निर्देशक डा. शैलेश कुमार मिश्रले जानकारी दिए ।

 

सन् २०२२ मा संघले विद्यालय आँखा जाँच कार्यक्रममार्फत सन् २०१८ देखि २०२२ सम्ममा देशका विभिन्न विद्यालयहरुमा अध्ययनरत १० लाख भन्दा बढी विद्यार्थीहरुको निःशुल्क आँखा जाँच गरी हजारौं विद्यार्थीहरुलाई निःशुल्क चश्मा वितरण गरिसकेको र ५ सय ५० जना विद्यार्थीहरुको निःशुल्क शल्यक्रिया समेत गरेको संघले जनाएको हो ।

 

संघका सञ्चार संयोजक कृष्ण भट्टराईका अनुसार नेपाल सरकारको सहयोग र निर्देशनमा संघले ‘राष्ट्रिय ट्रकोमा’ कार्यक्रम संचालन गरी नेपाललाई विश्व स्वास्थ्य संगठनबाट दक्षिणपूर्वी एशियाली क्षेत्रमा नै जनस्वास्थ्य समस्याको रुपमा रहेको ट्रकोमा रोग निवारण गर्ने पहिलो देशको रुपमा सम्मानित गराएको थियो । पछिल्लो समयमा संघले आँखासम्बन्धी विशेषज्ञहरुको उत्पादनमा समेत विशेष ध्यान दिँदै आएको सञ्चार संयोजक भट्टराईले बताए ।

 

आँखा उपचारमा नै सेवा दिँदै आएको संघले वि.सं. २०६९ देखि कानसम्बन्धी उपचार सेवा पनि विस्तार गरेको सञ्चार संयोजक भट्टराईले जानकारी दिए । ‘सिबिएम’को आर्थिक सहयोगमा कर्णाली प्रदेशमा एकीकृत आँखा तथा कान परियोजना सञ्चालनमा छ, जसले सन् २०२२ मा मात्र कर्णाली प्रदेशको दुरदराजमा पुगेर ३ हजार भन्दा बढी बिरामीहरुको निःशुल्क शल्यक्रिया गरेको छ’, सञ्चार संयोजक भट्टराईले भने ।

 

विभिन्न समयमा संघले अनुसन्धान कार्य पनि गराउँदै आएको जनाइएको छ । विश्व स्वास्थ्य संगठन, यूनिसेफ, यूएसएड र नेपाल सरकारको सहयोगमा संघले गराएको अनुसन्धानकै परिणामका आधारमा सरकारले ‘भिटामिन ए’कार्यक्रम शुरु गरेको पनि संघले जनाएको हो । 

 

यस कार्यक्रमले ‘भिटामिन ए’ को कमीबाट हुने अन्धोपनका साथै बाल मृत्युदरमा उल्लेख्यनीय कमी आएको संघले जनाइएको छ ।

 

यस्तै ४५औँ नेत्रज्योति दिवसको अवसरमा ‘हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी, आँखा सेवामा साझेदारी’ भन्ने नारा तय गरिएको छ ।

 

यस नारालाई साकार पार्न संघले विविध कार्यक्रमको आयोजना समेत गरेको छ । नेपालको संविधान २०७२ ले स्वास्थ्यलाई नागरिकको मौलिक हकको रुपमा उल्लेख गरेको तथा विश्व स्वास्थ्य संगठनले आँखा स्वास्थ्य सेवालाई आधारभूत स्वास्थ्य सेवाको रुपमा ग्रहण गरेको सन्दर्भमा, सार्वजनिक निजी साझेदारीको अवधारणा बमोजिम उपलब्ध श्रोत र साधनको अधिकतम परिचालन गरी हालसम्म प्राप्त उपलब्धिहरुलाई संरक्षण गर्दै राष्ट्रिय आँखा स्वास्थ्य रणनीतिलाई समेत आत्मसाथ गर्दै आँखा उपचार सेवालाई हरेक स्थानीय निकायहरुसम्म पुर्‍याउने लक्ष्य लिएको संघले जनाएको छ ।